फागुन २ । अभिनेता राजेश हमालले चार वर्षपछि साइन गरेको चलचित्र ‘सत्यम्’को छायांकन सुरु हुन सकेको छैन। चलचित्र अब बन्दैन भन्ने चर्चा पनि निक्कै चलेको छ।
अभिनेता हमालले उत्साहित भएर साइन गरेको यो चलचित्र के होला भन्ने चासो आमदर्शकमा छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘के अब सत्यम् नबन्ने नै हो’ भन्ने प्रश्नमा राजेशले भने, ‘कोभिडको माहोलका कारण यस्तो हुन गएको हो। अर्कोतिर निर्माताको व्यक्तिगत केही समस्याका कारण पनि चलचित्र निर्माणमा अलमल भएको हो। तर चलचित्र नबन्ने भन्ने होइन। ढिलो चाँडो चलचित्र बन्छ।’
यो चलचित्रमा राजेशको जोडीको रुपमा अभिनेत्री निरुता सिंहलाई पनि अफर गएको थियो। तर निरुताले भने चलचित्र साइन गरिसकेकी थिइनन्। निरुताले भनिन्, ‘यो विषयमा मसँग कुराकानी भएको हो। उहाँहरुले कुराकानीपछि फोन गर्छु भन्नुभएको थियो। त्यसपछि मेरो कुरा भएको छैन।’
महंगो बजेटमा बन्ने भनिएको यो चलचित्रमा राजेशसँगै पल शाह र अनुपविक्रम शाहीले पनि काम गर्ने पक्का भएको थियो।


























