माघ २९ । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ। १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो।
नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए। ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए। ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे।
आरिफ शेख ११ रनमा आउट भएका थिए। इनिङ्सको अन्तिम बलमा आउट भएका लोकेश बलमा २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए। उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहे। युएईका कासिफ दौडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए।
नेपालले अघिल्लो खेलमा शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले सोमबार आयरल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्ने छ।
यसअघि पावर प्लेको ६ ओभरमा युएईले १ विकेट गुमाइ ६० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईले चिराग सुरी र रोहन मुस्ताफाको सानदारमा १९२–३ को मजबुत स्कोर बनाएको थियो।
सुरी ८४ रन बनाएर अविजित रहे। उनले ५३ बल खेली ५ चैका र ५ छक्का प्रहार गरे। उनीसँगै अविजित रहेका मोहम्मद बुटाले ८ बलमा १४ रन बनाए। मुस्ताफाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए।
ओमानको राजधानी मस्कटमा ओपनर मोहम्मद वासिमले तेस्रो ओभरको पहिलो दुई बलमा शाहव आलमको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए। त्यसको अर्को बलमा शाहवले वासिमलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। वासिमले १३ बलमा २२ रन बनाए। कप्तान सन्दीप लामिछानेले बसिल अहमदलाई १७ रनमा बोल्ड गरे।
नेपालले ओमानसँगको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ। प्रदीप ऐरी, अविनाश बोहरा र सागर ढकालको स्थानमा लोकेश बम, जितेन्द्र मुखिया र शाहवलाई खेलाइएको छ। नेपालले लगातार दोस्रो खेलमा पनि प्रमुख खेलाडीद्वय कुशल भुर्तेल र करण केसीलाई खेलाएको छैन।
साता सुरु हुने ट्वान्टी–२० विश्वकपको छनोटको तयारीको रुपमा नेपालले यो प्रतियोगिता खेलिरहेको छ। विश्वकप छनोटको खेलहरू पनि मस्कटमै हुनेछ।


























