माघ २९ । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि आज शनिबार मेगा अक्सन हुँदैछ।
बैंगलोरमा दुई दिन हुने मेगा अक्सनमा कुल ५ सय ९० खेलाडी रहने छन् जसमध्ये २ सय २० खेलाडी विदेशी रहेको छ। मेगा अक्सनमा नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहेका छन्।
अक्सनबाट सन्दीपलाई कुनै पनि टिमले भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु अर्थात ६४ लाख नेपाली तिर्नुपर्ने हुन्छ। नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए। तर, अन्तिममा सन्दीप मात्र परेका हुन्।
यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन्। त्यसैले यस पटक समेत सन्दीप एक टिममा अनुबन्धित हुने अनुमान गरिएको छ। यस पटकको प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ। यस अघि ८ टोलीले खेल्दै आएका थिए।
यस पटक लखनउ सुपर जाइन्टस र गुजरात टाइन्टस नयाँ टोलीको रुपमा छन्। नयाँ संस्करणको आईपीएल मार्च अन्तिम साताबाट हुने बताईएको छ।
क्रिकेटसम्बन्धि वेबसाइट क्रिकइन्फोले आईपीएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ। प्रतियोगिता मे अन्तिमसम्म चल्ने बताईएको छ।


























