माघ २४ । कोरोनाभाइरस तेस्रो लहरको कारण बन्द रहेका काठमाडौंका फिल्म हलहरु फागुन १ गतेदेखि संचालनमा आउने भएका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा काठमाडौैं, भक्तपुर र ललितपुरका तीन सीडीओको संयुक्त बैठकले फिल्म हल, रात्रीकालिन व्यवसाय र विद्यालयलाई आगामी आइतबारदेखि संचालन अनुमति दिने निर्णय गरेको हो।
प्रशासनको निर्णयसँगै हल संचालकले फागुन १ गतेदेखि सेवा संचालन गर्ने तयारी थालेका छन्। काठमाडौं उपत्यका बाहिरका फिल्म हल संचालनको निर्णय चाहिँ सम्बन्धित जिल्ला प्रशासनहरुले गर्नेछन्।
मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले तेस्रो लहरमा चल्दाचल्दै रोकिएका फिल्मलाई रिलिज गर्ने जनाएको छ। स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, जापानी सुपरहिरो फिल्म एनिमे र चपली हाइट ३ चल्दाचल्दै रोकिएका थिए।
नयाँ फिल्म रिलिज नहुने भएपछि फागुन २ गते परेको भ्यालेन्टाइन्स डे रित्तै हुने भएको छ। कोरोना महामारीअघिका वर्षमा भ्यालेन्टाइन डेमा फिल्म हेर्न दर्शकको घुइँचो लाग्थ्यो।
एप्पल इन्टरटेनमेन्टले हलिउडको बहुप्रतीक्षित फिल्म किंग्सम्यानलाई फागुनको पहिलो शुक्रबारदेखि रिलिज गर्ने भएको छ जसले गर्दा हल खुलेलगत्तै किंग्सम्यान आउनेछैन।
वितरक मनोज राठीले १ गतेसम्मको अवस्था हेरेर रवि तेजा स्टारर फिल्म ‘खिलाडी’ रिलिज वा नगर्ने निर्णय हुने बताए। भारतमा ११ फेब्रुअरीमै रिलिज हुने भएपनि नेपालमा चाहिँ यसबारे टुंगो लागिसकेको छैन।


























