माघ १९ । भारतीय क्रिकेट बोर्डले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा भाग लिने ५९० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरिएको १ हजार २१४ जना खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी रहेकोमा अन्तिम सूचीमा भने एक जना खेलाडीमात्र पर्न सफल भएका छन्। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र यो सूचीमा अट्न सफल भएका हुन्। उनको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ।
५९० जनाको सूचीमा ३५५ जना अनक्याप्ड र २२८ जना क्याप्ड खेलाडी रहेका छन्। दुई दिनसम्म चल्ने लिलामीमा १० टोलीले भाग लिनेछन्। यसमा ७ एसोसिएट राष्ट्रका खेलाडीहरूले पनि भाग लिनेछन्। अन्तिम सूचीमा भारतका ३७० तथा विदेशका २२० जना विदेशी खेलाडी रहेका छन्। विदेशी खेलाडीको सूचीमा सबैभन्दा धेरै अस्ट्रेलियाका ४७ जना खेलाडी समावेश छन्। त्यस्तै, दक्षिण अफ्रिकाका ३३, इंग्ल्याण्ड र न्युजिल्याण्डका समान २४ तथा श्रीलंकाका २३ खेलाडी समावेश छन्। लिलामी १२ र १३ फेब्रुअरीमा बैंग्लुरुमा आयोजना हुनेछ। एजेन्सी


























