पोखरा, माघ १५ । २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ।
पोखरा रंगशाला जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० गोलको अग्रता बनाएको छ। खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका हुन्। अर्मान्ड बिडोमको पासमा उनले गोल गरे।
यस्तै पहिलो हाफमा मनाङका डिफेन्डर आदित्य चौधरी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए। आज दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रिएका छन्।
६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ। एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ।


























