माघ १० । तालिबानका सदस्यहरू र पश्चिमी अधिकारीहरूबीच बैठक बस्ने भएको छ। बैठक आज नर्वेमा बस्नेछ।
अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले पहिलो पटक पश्चिमी अधिकारीहरूसँग बैठक बस्न लागेको हो। तीन दिनसम्म चल्ने यस बैठकमा मानवअधिकार र मानवीय विपत्तिका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानको करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त खाना नभएको बताएको छ।
तर, युरोपका केही मानिसले तालिबानसँगको यो बैठकको विरोध पनि गरिरहेका छन्। कतिपय ठाउँमा प्रदर्शन पनि भइरहेको छ। आन्दोलनरत मानिसहरूले तालिबानसँगको यो बैठकमा ध्यान दिन नहुने बताएका छन्।
आइतबार तालिबान सदस्यहरूले मानवअधिकार कार्यकर्ताहरूसँग पनि भेटवार्ता गरेका थिए। यद्यपि उनीहरूबीच के छलफल भयो र के भयो भन्ने विवरण खुल्न भने बाँकी नै छ।
सोमबार हुने तालिबान सदस्य र युरोपेली अधिकारीहरूको बैठक सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ। एजेन्सी


























