माघ ८ । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम सम्मिलित टि–ट्वान्टी श्रृंखला खेल्ने भएको छ। ओमानको मस्कटमा हुने श्रृंखलामा नेपालसहित घरेलु टिम ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आयरल्यान्डले भाग लिने छन्।
यो श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानको सामना गर्नेछ भने दोस्रो र तेस्रो खेलमा क्रमशः यूएई तथा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
ग्लोबल क्वालिफायर्स पनि ओमानमै हुँदैछ। जहाँ नेपाल, ओमान, क्यानडा, फिलिपिन्स, बहराइन, जर्मनी, आयरल्यान्ड र यूएईले सहभागिता जनाउँदैछन्। ग्लोबल क्वालिफायर्समा कुल १६ टिमले भाग लिँदैछन्। जसमध्ये आठ टिमको प्रतिस्पर्धा ओमानमा हुन लागेको हो।
बाँकी आठ टिम सम्मिलित क्वालिफायर्स भने जिम्बावेमा हुनेछ। ओमान र जिम्बावेमा हुने क्वालिफायर्सबाट चार टिमले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन्। कुल १६ टिमले अस्टे«लियामा हुन लागेको विश्वकपमा भाग लिनेछन्।


























