काठमाडौं, माघ ५ । पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो। एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए। उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे।
यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए। कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए। भुवन कार्कीले १७ रन जोडे। आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए।
किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे। पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३र३ विकेट लिए। गुलशन झाले २ विकेट लिए। आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन्। विजेताले पाँच लाख र उप-विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराएर पुलिससँगको भेट पक्का गरेको हो।
पुलिसले भने पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले हराएको थियो।


























