माघ ५ । श्रीलंका भ्रमणमा रहेको जिम्बावेले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई हराएको छ।
मंगलबार राति भएको खेलमा जिम्बावेले श्रीलंकालाई २२ रनले हराएको हो। जितसँगै तीन खेलको सिरिजमा जिम्बावेले १-१ को बराबरी गरेको छ। पहिलो खेलमा श्रीलंका ५ विकेटले विजयी भएको थियो।
जिम्बावेले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि कप्तान डसुन शनकाले १ सय २ रनको शतकीय इनिङ्स खेले।
कामिन्दु मेन्डीसले ५७ रन जोड्दा चामिका करुनारत्नेले ३४ रन बनाए। यस्तै चारिथ अस्लान्का २३ रनमा आउट भए। जिम्बावेका टेण्डाई चतरा र ब्लेसिङ मुजराम्बानीले ३/३ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो। जिम्बावेका लागि कप्तान क्रेग इर्भिनले ९१ रन जोड्दा सिकन्दर राजाले ५६ रन बनाए। सिन विलियम्सले ४८ तथा रेगिस चिकभाले ४७ रन बनाए।
श्रीलंकाका जेफ्री भान्डरसेले ३ तथा नवन प्रदिपले २ विकेट लिए।


























