गाँजा प्रतिबन्ध हुँदा त नेपाली युवा दिनानुदिन लागूऔषध दुर्व्यसनीमा फस्ने क्रम रोकिएको छैन भने झन् यसलाई खुला गर्यो भने के होला ? भन्ने तर्क आगाडि सर्ला तर वास्तवमा यो सब भ्रम रहेछ। बरु जाँडरक्सी खाएर बाटोमा ढल्दै गरेको देखेँ। तर गाउँघरमा घरैपिच्छे गाँजाको बोट हुँदा पनि गाउँका युवाले गाँजा खाने गरेको भेटिनँ।
गाँजा किन नखाएको भन्ने प्रश्नमा जवाफ थियो, ‘गाँजा त्यस्तो झारपात नि के खाने? गाँजा खाँदा टाउको रिँगाउँछ, लठ्ठ बनाउँछ, काम गर्न सकिँदैन।’ खाए पनि यसो कहिलेकाहीँ, शिवरात्रिमा खान्छ्न् रे। गाउँका युवामा गाँजाप्रति खासै रुचि र चासो देखिनँ।
बरु २००० प्रतिकेजी बिक्री हुन्छ भन्दै खुब मेहेनतका साथ गाँजाको बोट छानामा सुकाउँदै थिए। यता शहरका युवालाई ५० ग्राम भेट्यो भने स्वर्ग भेट्या जस्तो हुन्छ। यो कुराबाट यो पनि पुष्टि हुन्छ कि कुकुरको छेउ भएको हड्डीलाई त्यति वास्ता गर्दैन, जब त्यो हड्डीलाई तान्न खोज्छौँ तब कुकुरले हड्डीलाई झम्टिन्छ। अझ जति धेरै बल गरेर तान्यो उति जोडसँग टोक्छ। सायद यस्तै भएको होला, गाँजाको विषयमा पनि नेपालमा गाँजा वैधानिक हुनुपर्दछ।
यो कुरालाई अझ एउटा सानो उदाहरणबाट प्रष्ट पार्न चाहान्छु। Sulphuric acid (H2SO4) जुन अत्यन्तै उपयोगी एवम् गुणवान पदार्थ हो। जसलाई ठूल्ठूला कलकारखानामा रङ, सर्फ, औषधि, ब्याट्रीलगायतका वस्तुहरु उत्पादन गर्न प्रयोग गरिन्छ। शिक्षाको क्षेत्रमा विद्यालयको विज्ञान प्रयोगशालामा विद्यार्थीलाई Hydrogen कसरी बन्छ? भनेर Zn + H2SO4 को रासायनिक प्रतिक्रिया देखाउन सकिन्छ।
त्यस्तै कृषि क्षेत्रमा माहुरीको घारमा लाग्ने माहुरीको शत्रु सेतो पुतलीबाट हुने हानी नोक्सानीलाई रोकथाम तथा उपचार गर्न यसको उपयोग गरिन्छ। Sulphuric Acid को यति धेरै उपयोगिता देखेर एक जना उद्योगीले Sulphuric Acid को उत्पादन गर्छ। वितरकले देशभर वितरण गर्छ। केमिकल पसललेले बिक्री गर्छ। अनि त्यही पसलबाट Acid किनेर एउटा व्यक्तिले एक युवतीको अनुहारमा छ्यापिदिन्छ।
अब सबाल यो हो कि, दोषी को? Acid छ्याप्ने व्यक्ति कि, Acid? Acid माथि प्रतिबन्ध लगाइनु, Acid उत्पादन तथा बिक्री वितरण गर्नेलाई कारबाही गरिनु कत्तिको समझदारीपूर्ण काम होला त?
पक्कै पनि यस्तै छ, गाँजाको विषयमा पनि गाँजा समस्या होइन, गाँजाको दुरुपयोग चाहिँ समस्या हो। युवाहरु दुर्व्यसनीमा फस्नु चाहिँ मुख्य समस्या हो। गाँजालाई प्रतिबन्ध लगाउने कुरामा भन्दा पनि युवा वर्गलाई दुर्व्यसनीमा फस्नबाट कसरी जोगाउने र फसेकालाई कसरी सुधार्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ कि?
उतातिर विशेषगरी सडक बालबालिका प्लाष्टिकको थैलीमा पाइप जोड्ने अनि ट्युब टाल्ने डेनड्राइट सुँघेर बस्छ्न्। अनि यता नेपाल सरकार गाँजामा प्रतिबन्ध लगाएर आफ्नो जिम्मेवारी पूरा गरेको अनुभुति गरिरहेको छ। कोदोको दुरुपयोग गरेर तीनपाने बनाउने अनि गाँजाको दुरुपयोग गरेर चिलिम बनाउने दुबै उस्तै कुरा हो। अनि कोदोबाट रक्सी बन्छ भनेर कोदोमाथि प्रतिबन्ध लगाइनु कत्तिको जायज होला त ?
केही सुझाबहरु
कानुनी प्रावधान : गाँजाको उत्पादन बिक्री वितरण तथा उपयोगलाई वैधानिक बनाउने। तर गाँजाको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्नुपर्दछ।
पहिलो पटक: पहिले चेतावनीस्वरुप दुर्व्यसनीमा फसेकालाई ९० दिनको लागि सुधार केन्द्रमा
दोस्रो पटक : नेपालमा आत्माहत्यासम्बन्धी जुन कानुनी व्यवस्था छ। (Fine & Imprisonment) सोही अनुरुपको कडा कारबाही गर्ने। किनकि गाँजा सेवन गर्नु भनेको आफैँलाई slow poison दिएर मार्न खोज्नु न हो। गाँजाको प्रतिबन्ध फुकुवा भएपछि मैले देखेको दुई समानान्तर व्यावसायिक सम्भावनाहरु :
१. गाँजा खेतीबाट किसानलाई आम्दानी, गाँजाको बोटबाट झोला ज्यकेट, गाँजाबाट बहुमूल्य तेल उत्पादन, जसबाट आयुर्वेदिक औषधि बन्छ।
२. सुधार केन्द्रको व्यवसाय पनि राम्रो चल्छ।
१ नम्बरको सम्भावनालाई (Herb Production & Processing Co.Ltd) र घरेलु तथा साना उद्योग विभागअन्तर्गत राखेर उत्पादन तथा प्रवर्द्वन गर्दा र २ नम्बरको सम्भावनालाई प्रहरी कल्याण कोषको लगानीमा र मातहतमा सञ्चालन गर्दा अझ धेरै प्रभावकारी हुने थियो कि ? गाँजालाई प्रतिबन्ध लगाउनु भनेको, ‘हिलोमा खसेको सुनलाई टिप्न हुन्न, टिप्यो भने हातमा हिलो लाग्छ, भनेर छोडे जस्तै हो। हिलोबाट सुन कसरी टिप्ने भन्ने कुरा महत्त्वपूर्ण हो। गाँजालाई चिलिममा हालेर धुँवा बनाएर खाने काम बाहेक बाँकी सबै फाइदामात्रै छ।
























