काठमाडौं, पुस २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ।
लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन्। पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
संकटा लिगको तेस्रो स्थानमा रहेको छ। संकटाले ७ खेलमा १३ अंक जोडेको छ। आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ। सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ। संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ।
यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र जावलाखेलबीचको खेल पाैने ५ बजे सुरु हुनेछ।
एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। जावलाखेललाई हराएर एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ। जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ। जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ।


























