चितवन । विवाहको आ—आफ्नै अर्थ छ, परिभाषा छ। विवाह व्यक्तिको जीवनसँग प्रत्यक्ष जोडिएको विषय पनि हो। व्यक्ति जन्मिन्छ, हुर्किन्छ, शारीरिक र मानसिक आवश्यकताहरू थपिँदै जान्छन्, जसको परिपूर्तिका लागि एक व्यक्तिले अर्को व्यक्तिको आवश्यकता महसुस गर्दछ। यसै क्रमबाट सामाजिक अथवा कानुनी मान्यता प्राप्त गरी २ व्यक्ति एक भएर जोडिन्छन् भने त्यो विवाह हो।
मानिस समाजमा बस्छ। सामाजिक मूल्य मान्यतामा आफूलाई समर्पित गर्दछ, जसले गर्दा उसले गर्ने हरेक क्रियाकलापलाई समाजले प्रभाव पारेको हुन्छ। व्यक्तिले सिक्ने हरेक कुराहरूमा समाजको महत्त्वपूर्ण भूमिका रहेको हुुन्छ, जसअन्तर्गत विवाह पनि एक हो। समाजमा समलिङ्गी, विपरित लिङ्गी र तेस्रो लिङ्गी जस्ता विभिन्न किसिमका व्यक्ति बस्छन्। वर्तमान समयमा विवाह र त्यसमा देखिएको तडकभडकको कुरा गर्दा विपरित लिङ्गीहरूबीचको विवाह एक सामाजिक विकृतिको रूपमा देखा परेको छ, जसले गर्दा वर्तमान समयमा यसले पु¥याएको नोक्सानी व्यक्तिगत तथा सांस्कृतिकरूपमा पनि गहन छ।
वर्तमान समयमा विवाहमा देखिएको तडकभडकले गर्दा दाइजो प्रथालाई नै प्रोत्साहन गरिरहेको छ, किनकी विवाहमा नगद तथा जिन्सी सामानहरूको लेनदेन प्रवृति बढ्दो छ। बढ्दो महिला हिंसा, बिलासिताका वस्तुहरूको अनावश्यक मागमा वृद्धि, समाजका व्यक्तिहरूबीच देखिएको आन्तरिक वर्गीकरण, विवाहले उक्त परिवारमा सृजित गर्ने ठूलो आर्थिक भार आदि जस्ता कार्यको बढ्दो प्रयोग हुनुमा वर्तमान समयको विवाहमा देखिएको तडकभडकलाई लिन सकिन्छ।
नेपाली समुदायमा बसोबास गर्ने व्यक्तिहरूलाई वर्गीकरण गर्दा मुस्किलले १० प्रतिशत व्यक्ति उच्च आय भएका, ५० प्रतिशत व्यक्ति मध्यम आय भएका र ४० प्रतिशत व्यक्ति न्युन आय भएका व्यक्ति छन्। विवाहलाई एक विकृतिको रूपमा भिœयाउनको लागि १० प्रतिशतको ठूलो भूमिका रहन्छ। सोही भूमिकालाई पछ्याइरहने प्रवृत्तिको विकास ५० प्रतिशत जनताले गरिरहेका छन्।
त्यसैले विवाहमा देखिने तडकभडकलाई रहरभन्दा बाध्यताको रूपमा हेर्न सकिन्छ। विवाहमा, पार्टी प्यालेसको प्रयोग, सुन, चाँदीजस्ता बिलासिताका सामाग्रीहरूको प्रयोग, हल्दी तथा मेहन्दीको प्रयोग, फोटो तथा भिडियो जस्ता कार्यको व्यापक प्रयोगलाई दिएको जोड जस्ता कार्य निरन्तर बढिरहेको छ।
यसरी यी कार्य बढ्नुको मुख्य जड नै समाज हो। समाजभन्ने वित्तिकै त्यहाँ बसोबास गर्ने व्यक्ति, सामाजिक रहनसहन र त्यहाँको संस्कृति आदि पर्दछन्। समाज बन्नको लागि धेरै समय लागेको हुन्छ भने समाज परिर्वतनको लागि पनि सोही अनुरूपकै समय लाग्दछ। पहिलेको तुलनामा समाज आजको दिनसम्म आइपुग्दा धेरै सुधार भइसकेको छ। समाजमा देखिएको यो विकृतिलाई न्यूनीकरण गर्नको लागि समाजलाई बदल्नुपर्छ। शिक्षित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि गराउनु पर्दछ। शिक्षित व्यक्ति भन्नाले कस्तो व्यक्तिलाई बुझ्ने यो कुरा पनि सोचनीय छ। विश्वविद्यालयको सर्टिफिकेटले शिक्षाको गुणस्तरलाई मापन गर्न सक्दैन। व्यक्तिले समयअनुसार आफूलाई बदल्न सक्ने क्षमताको विकास गर्दछ भने त्यसलाई सायद शिक्षित व्यक्ति भन्न सकिएला।
सामाजिक चेतनामा वृद्धि, विवाह र त्यसपछिको सम्बन्धबीच हुने अन्तरसम्बन्ध, सामाजिक प्रतिस्पर्धा आवश्यक हो या होइन त्यसको यथार्थ बुझाइ, विवाहमा उपस्थित दुई पक्षबीचको आपसी समन्वय जस्ता कार्यहरूबाट यस किसिमको तडकभडकलाई रोक्न सकिन्छ।
यदि व्यक्तिले आफूसँग भएको रकम विवाहको समयमा बाहेक अन्य समयमा खर्च गर्ने हो भने पनि यस किसिमको तडकभडकलाई रोक्न सहज हुनेछ। र, केही प्रतिष्ठित व्यक्तिहरूले यसको प्रयोगमा जोड दिएमा यसलाई उदाहरणीयरूपमा समाजले अवलम्बन गर्न सक्नेछ। त्यसैले यसलाई परिवर्तन गर्नको लागि स्वयम् केटा र केटी पक्षहरूबीच सहमतिको भावनासहित सामाजिक रूपान्तरणको प्रयास गर्न सकिन्छ।
व्यक्तिले आफूले कमाएको रकम अरूलाई हानी नपु¥याइ खर्च गर्न पाउने उसको नैसर्गिक अधिकार हो। त्यसलाई अलग राख्नु उचित नहोला। फेरि अर्कोतर्फ सोच्ने हो भने विवाहको कारणले फस्टाएका व्यवसायहरूको अवस्था के होला? जस्तै कि पार्टी प्यालेस, फोटो स्टुडियो र सुन, चाँदी पसल आदि। एकातर्फ सोच्ने हो भने ती बिलासिताका वस्तुहरूको अनावश्यक मूल्य वृद्धि रोकथाम गर्नको लागि पनि विवाहमा हुने तडकभडकलाई रोक्नु जरूरी छ। विवाह र संस्कृति व्यक्तिको जीवनसँग अभिन्नरूपमा जोडिएका अङ्ग हुन्। वर्तमान समयमा हाम्रो पहिचानसहितको विवाह लोप हुन लागिसकेको छ। यसलाई बचाउनु आवश्यक छ।
























