लसएञ्जल्स, पुस १७ । हलिउडकी लोकप्रिय अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ। उनले शुक्रबार अन्तिम श्वास फेरेकी हुन्। ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शोमा काम गरेकी उनले अमेरिकी जनतालाई सात दशकसम्म हसाएकी थिइन् । उनको घरमा नै सुतिरहेको अवस्थामा निधन भएको हो। उनी सयौं जन्मदिन मनाउने तयारीमा थिइन्।
बेट्टीले हलिउडमा लामो करियरको स्वाद लिइन्। उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो। उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन्। उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो। सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन्। उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो।
अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन्। उनको जन्म सन् १९२२ जनवरी १७ मा भएको थियो। उनी परिवारका साथ क्यालिफोर्नियामा आएकी थिइन्। जीवनमा तीन पटक विवाह गरेकी उनले कैयौं एमी अवार्ड पनि जितेकी थिइन्। अभिनेता एलन लुडेन उनका अन्तिम पति थिए।


























