चितवन १५ पुस । तमू ल्होसार-२०७८ को अवसरमा चितवनका पत्रकार तुलमान गुरुङ नगदसहित सम्मानित भएका छन्। तमू समाज पूर्वी चितवन, राप्ती नगरपालिकाले पत्रकार गुरुङलाई नगद पाँच हजार राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो।
बुधबार आयोजित ल्होसार पर्वको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा पत्रकार गुरुङलाई सम्मान गरिएको हो।
आफ्नो समुदायबाट समाज रुपान्तरणको लागि पत्रकारिता क्षेत्रमार्फत प्रयास जारी राखेको भन्दै थप हौसला प्रदान गर्नको लागि सम्मान गरिएको समाजका अध्यक्ष लेखबहादुर गुरुङले बताए। पत्रकार गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यसमिति सदस्य हुन्।
सोही अवसरमा तमू समुदायले आफ्नो जातीय संस्कृतिमा आधारित नाचगान गरेका थिए भने एकापसमा शुभकामनासमेत आदानप्रदान गरेका थिए। साथै ज्येष्ठ नागरिक तथा समाज स्थापनाको लागि विभिन्न माध्यमबाट सहयोग पुर्याउने व्यक्तित्वहरुलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो।


























