काठमाडौं १५ पुस । आज देशभरका गुरुङ समुदायले तमू ल्हाेसार पर्व हर्षोल्लासका साद देशैभर एकसाथ मनाइँदैछ। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमू ल्होसार’ पर्व मनाउँदै आएका गुरुङ समुदायले यसवर्ष ल्वों ल्हो अर्थात् गाई वर्गको बिदाइ र तो ल्हो अर्थात् बाघ वर्गको स्वागत गर्दै यस पर्व मनाउन लागेको हो।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो। तमू ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।
तमू ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिइँदै आएको छ। यसवर्ष भने संघीय सरकारले पनि पुस १५ को दिन देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


























