चितवन १५ पुस । जिल्लामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको जनाएको हो। सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लंघनका ९२ घटना भएका छन्। अघिल्लो वर्ष यसै अवधिमा ११० घटना भएका थिए।
सन् २०२१ मा भएका घटनामा ८८ महिला र चार पुरुष पीडित बनेका छन्। इन्सेक चितवनका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयमा परेका उजुरीका आधारमा घटना विवरण सङ्कलन गरिएको हो। बालअधिकार उल्लंघनका ५१, हत्याका चार, महिला अधिकार उल्लंघनका ३७ घटना भएको सो अवसरमा जानकारी दिइएको थियो।
बलात्कारका घटनामा बालिका २९ र महिला १६ जना पीडित बनेका छन्। बालविवाह एक र बहुविवाहका १० घटना भएका छन्। यौन दुराचारमा १७ बालिका र एक बालक, जबर्जस्ती करणी प्रयासमा सात महिला पीडित बनेका छन्। बेचबिखनमा तीन महिला र तीन बालिका परेका छन्। कुटपिटबाट दुईको मृत्यु भएको छ भने धारिलो हतियार प्रहारबाट एक महिलाको ज्यान गएको छ।
हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको तथ्याङ्कमा उल्लेख छ। हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन। सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात घटना भएको सो अवसरमा जानकारी दिइएको थियो। बालिका बलात्कारका ३६ र पाँच प्रयासका घटना भएका थिए। चार महिला र पाँच पुरुषको हत्या भएको थियो।
छ बालिका बालयौन दुव्र्यवहारमा परेका थिए। बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका तीन घटना भएका इन्सेकले जनाएको छ। मानव बेचबिखनका चार, बम विष्फोटका एउटा, हातहतियारसम्बन्धी एउटा र राज्यविरुद्धका अपराधका पाँच घटना भएको अधिकारीले जानकारी दिए। गत असोज २८ गते कुटपिटबाट ज्यान गुमाएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकका परिवारले दुई महिना पूरा हुँदा अझै शव बुझेका छैनन्।
हत्या आरोपमा पक्राउ परेका दुईलाई आवेश प्रेरित हत्या भनेर मुद्दा चलाइएको छ। हत्या भएकै दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो। प्रहरीले गत कात्तिक २२ गतेदेखि आरोपितद्वयलाई पुर्पक्षका लागि थुनामा राखेको छ। समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले मानवअधिकार उल्लंघनका घटना रोक्न सबैको सहयोग आवश्यक रहेको बताए।


























