पुस ९ । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ।
बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। साविक विजेता समेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो। लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो।
महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन्। अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै पुरुष टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउसो पौने ६ बजे सुरु हुनेछ।
नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो।


























