पुस ८ । नेपालको महिला भलिबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुआत गरेको छ।
बंगलादेशको ढाकामा बिहीबार श्रीलंकालाई ३-२ को सेटमा पराजित गर्दै नेपालले सुखद सुरुआत गरेको हो। साविक विजेता समेत रहेको नेपालले सुरुआती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको सुरुआती दुई सेट श्रीलंकाले २५-१९ र २५-२१ ले जितेको थियो। तर, त्यसपछिको दुई सेटमा नेपालले २५-१५ र २५-१५ को सेटमा जित निकाल्यो। त्यसपछि अन्तिम सेटमा श्रीलंकालाई १५-१३ को सेटमा हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।
अब नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र आयोजकबीचको खेल दिउसो पाैने ५ बजे सुरु हुनेछ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन्। पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।


























