काठमाडौँ, पुस ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दैछ।
विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। ‘साझा धारणा निर्माणका लागि दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेछ,’उनले भने।
बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन्।
त्यसपछि अपराह्न ४ बजे सर्वदलीय बस्नेछ। संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेका हुन्। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ।
विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ। एमाले आजको बैठकमा पनि सहभागी हुने छैन।
प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ।


























