चितवन ०२ पुस । औद्योगिक प्रवर्द्वन तथा दिगो आर्थिक विकासका लागि भन्दै चितवन उद्योग संघले आयोजना गरेको छैटौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुक्रबारबाट सुरू भएको छ। उद्यमशीलताको विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।
चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजना एवम् मिडिया स्पेस सोलुसन्स प्रा. लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी सुरू गरिएको हो। प्रदर्शनीमा भारतका ५० बढी स्टल छन् भने समग्रमा २०० वटा स्टल रहेका अध्यक्ष कँडेलले जानकारी दिए।

निजी क्षेत्रबाट औद्योगिक विकास सम्भव : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चितवन उद्योग संघले निजी क्षेत्रको औद्योगिककरणको विकासमा चितवन उद्योग संघले विशेष भूमिका खेलेको बताइन्। संघले निजी क्षेत्रको तर्फबाट औद्योगिक पूर्वाधार विकास, उद्योगमैत्री नीति निर्माणमा बहस पैरवी र उद्यमीहरूको क्षमता अभिवृद्धिलक्षित कार्यक्रमहरूमा देखाएको सक्रियता समग्र राष्ट्रको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताइन्। ‘निजी क्षेत्रबाटै औद्योगिक विकास सम्भव छ,’ उनले भनिन्, ‘जसले सरकार र राज्यलाई नै ठूलो टेवा पुगेको छ।’
आफ्ना उद्यमीहरूलाई औद्योगिक सहकारीमार्फत वित्तीय सेवा प्रदान गर्नेदेखि उद्योगीका हरेक समस्या समाधानमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ। बजेट अभावका कारण गुरूयोजनाअनुरूप निर्माण सम्पन्न गर्न नसकेको भन्दै आफ्नो तर्फबाट सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाइन्।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुनारायण श्रेष्ठ, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन, नेकपा एमालेका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेसका नेता राजीव न्यौपाने, नेकपा एकीकृत समाजवादीका नेता अध्यक्ष डा.कृष्णराज पन्त, नेकपा माओवादी केन्द्रका नेता ईश्वर सापकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीलगायतले शुभकामना दिएका थिए।


























