काठमाडौँ, मंसिर २९ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए। ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो। दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो।
मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणमा सभापति लडेका थिए। पछि कम मत ल्याउने तीनै जनाले देउवालाई समर्थन गरेका थिए।



























