काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयन गर्न फेरि मतदान शुरू भएको छ। दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा.शेखर कोइराला सभापतिका उम्मेदवार छन्।
सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि फेरि मतदान शुरू भएको हो। मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको छ।
अपराह्न साढे ३ बजेदेखि शुरू मतदान साँझ साढे ७ बजेसम्म हुने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो।
मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए। सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कुल ७६ मत बदर भएको थियो।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ। पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ। पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।


























