मंसिर २५ । बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज शनिबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
नेपाली टिम बंगलादेशलाई कडा चुनौती दिने योजनासहित मैदान उत्रनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले घरेलु टिमलाई कडा चुनौती दिने बताएका छन्।
‘हामीले छोटो समयमा टोली तयार गर्नु पर्यो। तर, हामी घरेलु टोलीलाई कडा चुनौती दिनेछौं,’ प्रि म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए।
बंगलादेशका प्रशिक्षक गुलाम छोटोनले प्रतियोगिताका लागि आफ्नो टिम बलियो रहेको बताए।
‘यो टोलीले लामो समयबाट खेल्दै आएको छ। राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा छन्। हामीलाई घरेलु मैदानको फाईदा छ,’ उनले भने, ‘मैले भन्नु पर्छ। हामी राम्रो टिम हौँ।’
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन्।
शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ। बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ। नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ।
फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।


























