मंसिर २३ । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो। नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा बार्सिलोना ३-० ले पराजित भएको हो।
बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको हो। बायर्नलाई जित दिलाउन थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे।
घरेलु मैदानमा ३४ औं मिनेटमा मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। खेलको ४३ औं मिनेटमा सानेले गोल गर्दै टिमको अग्रता २-० को बनाए।
त्यसपछि खेलको ६२ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० को सहज जित दिलाए। यस जितसँगै बायर्नले समूह ई बाट समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ।
यस समूहबाट बेन्फिका उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। बेन्फिकाले ६ खेलमा ८ अंक जोड्यो। बेन्फिकाले समूह चरणको अन्तिम खेलमा डाइनामो किभलाई २-० ले हराएको छ।
बायर्नले ६ खेलमा १८ अंक जोड्यो। बार्सिलोना ७ अंक जोडेर यस समूहको तेस्रो स्थानमा रह्यो।


























