चितवन, मंसिर २२ । भरतपुर महानगरपालिकाको वडा नं. २७ र २८ मा निर्माण भएको मुसहर बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ। महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७/७८ को बजेटबाट वडा नं २७ र २८ मेघौलीस्थित दद्रेनीको मुसहर बस्तीमा निर्माण गरेको थियो। नवर्निमित सामूहिक आवास महानगर प्रमुख रेनु दाहालले स्थानीयलाई हस्तान्तरण गरेकी हुन्।

गत स्थानीय तह निर्वाचनका बेला चुनावी अभियानकै क्रममा यहाँको मुसहर बस्ती बनाइदिने अठोट गरेकी उनले सोहीअनुसार जनताको आधारभूत आवश्यकता महसुस गरी बस्ती निर्माण गरिदिएको बताइन्। महानगरले ६ वटा घर मुसहरको लागि बनाइदिएको हो। ‘विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना हो,’ मेयर दाहालले भनिन्, ‘हरेकले घर पाउने अवस्था सुनिश्चित भएको उदाहरण यही नै हो।’

सामूहिक घर निर्माणको लागि टिकाराम भुसालको संयोजकत्वमा ‘घर निर्माण उपभोक्ता समिति’ नै गठन गरेर काम गरेको थियो। समितिका संयोजक भुसालका अनुसार महानगरको २३ लाख रूपैयाँ बजेटमा भान्छा र शौचालयसहितको दुई कोठे पक्की घर निर्माण गरिदिएको हो।
नयाँ घर पाएपछि चितवनको मुसहर बस्तीमा खुसीको दियो बलेको छ। बस्ने टहरो समेत राम्रो नभएको समयमा स्थानीय सरकारले घर बनाइदिएपछि जीवन नै फेरिएको महसुस भएको स्थानीय सुनिता मुसहरले बताइन्। खोलामा गएर माछा नमारी गुजारा नचल्ने दीपक मुसहरलाई बासको गासको जोहो जेनतेन गरे पनि बासको जोहो सरकारले गरिदिएको भन्दै खुसी व्यक्त गरे।
दीपक मुसहर, शम्भु मुसहर, राजु मुसहर, गेडह मुसहर र पत्रुस मुसहरले बुधबार नयाँ घर पाएका हुन्। राजकुमार मुसहरले भने गतवर्ष नै नयाँ घर पाइसकेका छन्।


























