काठमाडौं, मंसिर १६ । नेपाली क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये ५ जनाको अन्तरवार्ता लिएको छ।
क्यानको पाँच सदस्यीय छनोट समितिले अन्तिम चारणमा बुधबार ५ जनाको अन्तरवार्ता लिएको हो। क्यानले अन्तिम चरणमा ७ प्रशिक्षकको अन्तरवार्ता लिने निर्णय गरेपनि दुई जना अन्तरवार्तामा नआएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराए।
मल्लका अनुसार क्यानले बिहीबार नै अन्तरवार्ता लिएका प्रशिक्षकहरुको नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाउने भएको छ।
क्यानले आईसीसीसँगको छलफलपछि मुख्य प्रशिक्षक नियुक्त गर्नेछ।
‘दुई तीन दिनभित्रै प्रशिक्षकको नाम सार्वजनिक गरिनेछ।’ मल्लले भने।
यस अघि क्यानले १५ जनाको अन्तरवार्ता लिने तयारी गरेको थियो तर समितिले ७ जनाको अन्तरवार्ता लिने निर्णय गरेको थियो। क्यानले कार्यवाहक सचिव मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय समिति गठन गरेको थियो।
समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन्। समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहेका छन्।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो। क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ। ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन्।


























