काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चार वर्षअघि पार्टी तीन टुक्रामा विभाजन हुनुमा आफू नैतिक जिम्मेवार भएको बताएका छन्।
उनले जे कारण भए पनि आफू त्यतातर्फ नजाने भन्दै पार्टी विभाजनमा आफू दोषी भएकाले आत्मालोचना गर्ने बताए। उनले कार्यकर्तामाझ माफी पनि मागेका छन्।
“२०७३ सालमा पार्टी एकता गरेर एकता महाधिवेशन गर्यौँ, तर चुनावसम्म पार्टी तीन टुक्रा भयो। यसमा अरू धेरै दोषी होलान् म त्यतातर्फ जाँदिनँ,” बुधबार काठमाडौंमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा उनले भने, “म गलत छु, नैतिक जिम्मेवारी म लिन्छु। म आत्मालोचना गर्छु।”
उनले एकता महाधिवेशन गर्न सफल भएकोमा गर्व लागेको पनि बताए। पार्टी योभन्दा तल र कमजोर हुने ठाउँ नभएको भन्दै उनले अब पार्टी बलियो बन्दै जाने दाबी गरे।
सहमति र एकताका साथ नेतृत्व चयन गर्न पनि उनले आग्रह गरे। अब पार्टी कहिल्यै विभाजन नहुने जिकिर समेत गरे।


























