मंसिर १२ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईले नेपाललाई १ सय २८ रनको लक्ष्य दिएको छ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो। युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन।
कभिसा इगोडेजले २२ रनको योगदान गरिन्। नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन्। सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात पारे।
६ टिम सहभागी यस प्रतियोगिताबाट केवल एक टोली ग्लोबल छनोटमा स्थान बनाउने हुँदा नेपालका लागि युएईविरुद्धको खेल गर या मरको अवस्था रहेको छ।
नेपाललाई युएईविरुद्ध केवल जितको मात्र खाचो छैन, उसले नेट रनरेटमा समेत आफूलाई माथि उभ्याउनुपर्नेछ। ग्लोबल छनोटका लागि नेपालले युएईलाई १० रन अथवा १० बलको अन्तरमा पराजित गर्नु पर्नेछ।
अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल मात्र खेल्न बाँकी छ। अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।
यता नेपाल र हङकङले समान ६–६ अंक जोडेपनि नेपाल नेट रन रेटमा अगाडी छ। ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले पनि आजै अन्तिम खेल कुवेतविरुद्ध खेल्दैछ।


























