मंसिर ६ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङलाई १ सय ५ रनको चुनौती दिएको छ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको हो। नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन्। ५७ बलको सामना गर्दा सीताले चार चौका प्रहार गरिन्। उनले नवौं ओभरमा रुचिता भेङकटेसलाई लगातार तीन चौका प्रहार गरेकी थिईन्।
इन्दु बर्माले अविजित ३१ रन जोडिन्। उनले ३७ बल खेल्दा तीन चौका प्रहार गरिन्। काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन्। उनी क्यारी चनको बलमा मारिको हिलबाट क्याच आउट भइन्।
ओपनर कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन्। बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन्। नेपालले ६ ओभरमा १४ रन जोड्दा एक विकेट गुमाएको थियो। बोर्डमा २१ रन हुदा नेपालले दुई विकेट गुमाएपनि सीता र इन्दुको जोडीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे।


























