काठमाडौँ, मंसिर ४ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ।
त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १-१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन्। तर, खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए।
सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे। रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने।
तर खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए। जीवन गुरुङको क्रसमा त्रिदेभले हेड मार्फत टप कर्नरमा उत्कृष्ट गोल गरे।
यस्तै खेलको ८४ औं मिनेटमा संकटाका गणेश हमालको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो। रिबाउन्डमा आएको त्यहिँ बलमा रुचालको हेडरले पोस्टको दिशा लिन सकेन।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन र बराबरीबाट दुबै टोलीले नयाँ सिजनको सुरुआत गरेको छ। खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए।


























