भक्तपुर, मंसिर ४ । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएकाछन्।
राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताएकाहुन्।
उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए।
“स्वास्थ्य क्षेत्रमा भएकाने, “स्वास्थ्य क्षेत्र भएका गलत कामकारवाहीलाई अब रोकिन्छ।”
अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताए। उनले भने, “ आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ।”
अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उनले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अवस्था नआउने दाबी गरे। अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताए। आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ। रासस


























