गुल्मी, कार्तिक २८ । गुल्मी प्रहरीले फरार दुई अभियुक्त पक्राउ गरेको छ। प्रहरीले गतबर्षको २३ पुसमा १७ बर्षीया किशोरीलाई बलात्कार गरेर फरार भएका कपिलवस्तु बाणगंगा नगरपालिका- १ पिपराका २१ बर्षीय चन्द्रबहादुर थापालाई १० महिनापछि घरबाटै पक्राउ गरेको हो।
थापालाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले पक्राउ गरेको हो। बलात्कार भएको बारेमा बालिकाले परिवारलाई लामो समयसम्म बताएकी थिइनन्।
आरोपितले बलात्कारपछि पनि पटक पटक मानसिक तनाव दिएपछि बालिकाले परिवारलाई बताएकी थिइन्। त्यसपछि पीडित परिवारले १० महिनापछि १६ कात्तिकमा थापाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।
उजुरीपछि खोजतसालका क्रममा थापालाई प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईसहितको टोलीले घरैबाट पक्राउ गरेर ल्याएको पाण्डेयले बताए।
यस्तै ३१ बर्यीया महिलालाई बलात्कार गरेर फरार रहेका गुल्मी मुसिकोट नगरपालिका-८ का ४७ बर्षीय चन्द्रे सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ। आरोपित सार्कीले महिलालाई गत १७ भदौमा बलात्कार गरेर फरार भएका थिए।
सार्कीविरुद्ध परिवारले २१ भदौमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। त्यसपछि खोजतलासका क्रममा घर नजिकबाटै पक्राउ गरेर अदालतमा पेश गरी आवश्यक अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।


























