कार्तिक १९ । ‘गोर्खा वारियर–२’ का लागि ३४ जना कलाकार चयन भएका छन्। यो चलचित्रको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो। सो अडिसनमा सहभागी भएका एक सयभन्दा बढी व्यक्ति मध्येबाट ३४ जना चयन भएका हुन्।
यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेको हो। छानिएकामध्ये अधिकांश कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन्।
यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यसअघि रोकिएको थियो। अब बाँकी छायाँकन तिहार लगत्तै सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन्। त्यसपछि बाँकी छायाँकनको लागि युनिट तनहुँ जानेछ। यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो।
नेपालको छायाँकन सकिएपछि बेलायत, भारत, मलेसिया लगायतका देशमा बाँकी छायाँकन सम्पन्न गरिने पनि निर्देशक चम्सले जानकारी गराएका छन्। यो चलचित्रको छायाँकनका लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री दशैं अघि नै नेपाल आइसकेको छ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन्। गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ। रितेश चाम्सले नव नायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दैछन्।
यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ।
चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए। अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुनेछ। यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ।


























