बङ्गलादेश, कार्तिक ६ । बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन्।
प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ। उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सृजना भएको जनाइएको छ।
आक्रमणकारीहरूले शिविरमा रहेको इस्लामिक विद्यालयमा पढ्ने मानिसलाई गोली र छुरा प्रहार गरेको जनाइएको छ।
उक्त घटनामा त्यस शिविरमा चार जनाको तत्काल मृत्यु भएको छ भने बालुखली शरणार्थी कम्प्लेक्सको एउटा शिविरको एउटा अस्पतालमा अन्य तीन जनाको मृत्यु भएको छ। त्यहाँ ९० हजार मानिस बस्ने गर्दथे। प्रहरीले मृतक र घाइतेको वास्तविक सङ्ख्या सार्वजनिक नगरे पनि चिकित्सकहरूले नाम नभन्ने सर्तमा कम्तीमा २० जना नराम्ररी घाइते भएको जनाएका छन्। चिकित्सकले बताएअनुसार अस्पतालमा उपचारारत अधिकांश घाइतेहरू अङ्गभङ्ग भएका छन्।
प्रहरी अधिकारी कामरान हुसेनका अनुसार “रोहिंग्या दुश्मनहरू” बिहान सबेरै डारुल उलुम नाडवतुल उलामा अल इस्लामिया मदरसामा प्रवेश गरेर एक्कासि गोली प्रहार गरेका थिए।
उक्त घटनापछि २७,००० भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शिविरलाई सुरक्षा बलले तुरुन्त नियन्त्रणमा लिएको थियो। एएफपी


























