मुम्बई, कार्तिक १ । कोरोना भाइरसको प्रकोप भलै कम भए पनि यो भाइरस हालसम्म सकिएको छैन। बलिउडमा पछिल्लो समयमा सेलिब्रेटीहरुलाई कोरोना संक्रमणको खबर निकै कम आइरहेको बेला अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण भएको छ।
अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफूलाई कोरोना संक्रमण भएको र फ्यानलाई आफ्नो स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी छन्।
‘म कोरोना पोजेटिभ भएकी छु। पछिल्लो केही दिनदेखि एलर्जी र सायद त्यही कारणले रुघा दखिएको थियो। किनकी मलाई धुलोसँग एलर्जी हुन्छ। तर केही दिनदेखि ज्वरो पनि आएको थियो। त्यसपछि मलाई शंका लागेर कोभिड परीक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ आयो। यस्तो बेला डराउनु भन्दा पनि सावधानी अपनाउनुपर्छ। म सबै आवश्यक सावधानी अपनाउदै आफ्नो स्याहारसुसार गरिरहेकी छु’, उनले इन्स्टाग्राम भिडियोमा भनेकी छन्। पूजाका अनुसार उनका दुलाहा र मेडलाई पनि कोरोना संक्रमण भएको छ।
पूजाले सन् १९९१ मा रिलिज फिल्म ‘विषकन्या’बाट अभिनय करियर सुरुवात गरेकी थिइन्। यो फिल्ममा उनले प्रमुख भूमिका निभाएकी थिइन्। यसपछि उनले सन् १९९२ मा रिलिज आमिर खान अभिनित फिल्म ‘जो जीता वही सिकन्दर’मा प्रमुख भूमिका निभाएकी थिइन्। यो फिल्ममा आमिरसँगको चुम्बन दृश्यका कारण उनी चर्चामा आएकी थिइन्।
पूजा आफ्नो निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन्। दैनिक जागरण


























