असोज २७ । लामो समयदेखि बन्द रहेको नेपाली चलचित्र उद्योगमा दसैँमा दुईवटा चलचित्र रिलिज भए। एउटा घटस्थापनाका दिन र अर्को फूलपातीका दिन।
घटस्थापनाका दिन रिलिज भएको मनोज पण्डितको चलचित्र ‘एक’ हो भने फूलपातीका दिन रिलिज भएको शोभित बस्नेतको ‘डाँडाको बरपीपल’। ‘एक’ डिजिटल प्लेटफर्मममा रिलिज भएको हो भने ‘डाँडाको बरपीपल’ हल रिलिज भएको हो।
‘एक’ सिनेमा घरहरु बन्द रहेका बेला डिजिटल प्लेटफर्ममा रिलिज भएको हो। चलचित्र डिस होमको च्यानल ५५५का साथै सिनेमा घर गोल्ड, नेट टिभी, म्याक्स टिभी, एक्स भीओडी, भायो नेटको टिभीमा हेर्न सकिन्छ।
सिनेमा घर गोल्डमा १९९ रुपैयाँ तिरेर हेर्न सकिने चलचित्र अन्य डिजिटल प्लेटफर्मममा भने २२५ रुपैयाँ तिरेर हेर्न सकिन्छ।
‘राजनीतिक चलचित्र ‘एक’ देश टुक्र्याउन खोज्नेहरुविरुद्ध एक हुनुपर्छ भन्ने सन्देश दिने सिनेमा हो। चलचित्रमा विशाल पोखरेल र प्रमोद अग्रहरी मुख्य भूमिकामा छन्।
‘डाँडाको परपीपल’ मल्टिस्टारर चलचित्र हो। भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ।
कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि हल रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो। अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन्। दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन्।
प्रदर्शक र वितरकले दसैँमा ठूला ब्यानरका चलचित्र रिलिज गर्न लविङ गरे पनि निर्माताहरु तयार भएनन्। र, अन्ततः ठूला ब्यानरका चलचित्र रिलिज भएनन्।


























