कञ्चनपुर, असोज २४ । चाडपर्वका बेलामा जिल्लाभित्र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
बजारदेखि गाउँसम्म प्रहरीको गस्ती टोलीलाई प्रभावकारीरूपमा परिचालन गरिएको र अवाञ्छित गतिविधि हुनसक्ने संवेदनशील क्षेत्र पहिचान गरी सादा पोशाकका प्रहरीलाई पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
‘आम नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिनका लागि प्रदेशबाट थप जनशिक्त ल्याएर परिचालन गरेका छौँ’, उनले भने, ‘चौबीसै घण्टा प्रहरीको टोली परिचालित छ।’ जुवातास र अवैधरूपले ल्याइएका मदिराको कारोबार रोक्नका लागिसमेत सक्रिय भएर काम गरिरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गमा सुरक्षित यात्राका लागिसमेत प्रहरी टोली परिचालन गरेर यात्रुबाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा लिनेलाई निरुत्साहित गर्नाका साथै मापसे जाँच पनि भइरहेको उनको भनाइ थियो।
मातहतका प्रहरी युनिटमा नागरिक सहायता कक्ष सञ्चालन गरी नागरिकका गुनासा तथा उजुरीका आधारमा कारबाही गर्न थालिएको र सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरीले चालकलाई सचेत पार्दै आएको छ।
दशैँ, तिहार र छठपर्वका बेला विगतको तुलनामा पैदल, गाडी र सादा पोशाकमा प्रहरीलाई परिचालन गरी शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ थियो।
‘सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको व्यवस्था गरी जाँचलाई अगाडि बढाएका छौँ’, उनले भने, ‘गड्डाचौकी र त्रिनगर सीमानाकामा कुकुरसहितका प्रहरीको टोली परिचालन गरिएको छ।’
भारतबाट अबैधरूपमा ल्याइने विष्फोटक पदार्थ, हातहतियारलगायत सामग्री भित्रिन नदिन सीमा क्षेत्रमा कुकुरसहितको टोली परिचालन गरिएको र बैंक तथा वित्तीय संस्था र सुन–चाँदी पसलको सुरक्षाका लागि सम्बन्धित निकायलाई सचेत पारिएका प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।
‘सिसीटिभीको व्यवस्थासँगै सुरक्षाको बलियो प्रबन्ध गर्नका लागि बैंक तथा वित्तीय संस्था र सुन, चाँदी पसल सञ्चालकलाई यसअघि नै आग्रह गरेका छौँ’, उनले भने, ‘प्रहरीले पनि ती क्षेत्रमा विशेष निगरानी राख्ने काम गरिरहेको छ। सार्वजनिक सङ्घसंस्थाको सुरक्षाका लागि समेत प्रहरीको टोलीले काम गरिरहेको छ।’ रासस


























