चितवन, असोज २२ । कृषि क्षेत्रमा ग्रामिण महिलाहरुले पुर्याएको योगदानको कदर गर्न माग गरिएको छ। राष्ट्रिय कृषक समुह महासंघ नेपालले आज (शुक्रवार) भरतपुरमा आयोजना गरेको १४ औँ अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने सहभागिहरुले घर भित्रका जिम्मेवारी पुरा गरि महिलाले कृषि र देशका लागि पुर्याएको योगदानको कदर गर्न माग गरेका हून्।
राष्ट्रिय सरोकार तथा समन्वय समिति संयोजक पार्वती रावलले घर भित्र र कृषिमा महिलाले गरेको कामको मुल्याङ्कन हुनुपर्ने बताइन्। कार्यक्रममा उनले महिला भित्रको विविधतालाई अन्त्य गर्न कामको सम्मान हुनुपर्ने धारणा राखिन्। ‘ग्रामीण र सहरका महिलाको समस्या फरक छ। ग्रामिण भेगका महिलाहरु अझै राज्यले दिने सेवाबाट बञ्चित छन्,’ उनले भने, ‘उनिहरुलाई सेवाबाट बञ्चित हुन नदिन आर्थिक रुपमा बलियो बनाउनुपर्छ।’ घरभित्र महिलाले गर्ने कामको ज्याला समेत हुनुपर्ने उनको भनाई छ।
कार्यक्रममा माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजि महत्तोले महिलाहरु आफ्नो अधिकार खोज्ने कुरामा निकै तल रहेको बताइन्। विभिन्न तहमा महिलाको सहभागिता रहेपनि निर्णायक तहमा महिला अझै पुग्न नसकेको उनले जिकिर गरिन्। अझै पनि हाम्रो पृति सत्तात्मक सोच हटेको छैन। अहिले राज्यका विभिन्न तहमा महिलालाई उपस्थितिका लागि मात्र सहभागिता गराईएको छ। निर्णायक तहमा महिला छैनन्’, उनले भनिन्, ‘आर्य आर्जनमा जोडेर आर्थिक रुपले दरिलो भएनन् भने महिलाहरुले आधिकार पाउन सक्दैनन।’
कृषि तथा वन विज्ञान विश्वविद्यालय उप–प्राध्यापक सिम्रिका रिजालले ग्रामिण क्षेत्रमा महिलाहरु कृषि क्षेत्रमा सहभागि भएपनि त्यसबाट हुने मुनाफा उनीहरुले नपाएको बताइन्। अधिकांश पुरुषहरु विदेश गएको अवस्थामा सरकारले महिला मैत्री कृषि औजार महिला समक्ष पुर्याउन सरकारलाई आग्रह समेत गरिन्। ‘७० प्रतिशत भन्दा बढी ग्रामिण महिला तथा किशोरीहरुले नेपालको कृषि थेग्दै आएका छन्। उनीहरुले कृषि प्रधान देश भनेर नेपाललाई चिनाईरहेका पनि छन्। रात दिन नभनि यस कर्ममा लागेकहरुलाई राज्यले कदर गर्नुपर्छ’, उनले भनिन्। अहिले महिलाहरु जीविको पार्जनका लागि अत्यावश्यक भूमि, कृषि जन्य उत्पादनका साधन, बजारको पहुँचभन्दा बहिर रहेका छन्।
महिला किसानहरुले परम्परागत बाली, वातारवरण मैत्री र विषादी मुक्त कृषि पद्धति अवलम्बन मार्फत वातावरणीय संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताइन्। कार्यपत्र प्रस्तुत गर्दै उनले खाद्य सुरक्षा तथा पोषण, भूमि तथा प्राकृतिक श्रोत व्यवस्थापनसंग सम्बन्धित ज्ञान र अनुभवलाई राज्यले कृषि विकासको आधारमा लिन सक्नेपर्ने धारणा राखिन्।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका अध्यक्ष नबराज बस्नेतले ग्रामिण महिलाहरु अझै स्रोत साधन विहिन रहँदा पछि परेको बताए। उनले भोग र रोगको प्रभाव नगरि काम गर्ने महिलाहरुको उचित मुल्याङ्कन नहुँदा समस्या आएको बताए।
कृषि विज्ञ कृष्णप्रसाद पौडेलले राजनीतिक सचेतना नपुगेका कारण महिलाहरु अझै पछि परेको बताए। ‘स्थानिय तहमा महिलाको सहभागिताका लागि मात्र उपस्थिति छ। त्यहाँ उनिहरुको निर्णय गर्ने अधिकार छैन।’ उनले भने, ‘अव हुने निर्वाचनमा महिलाहरु सक्रिय भएर आउनुपर्छ।’ कार्यक्रममा मिलन घलानले तयार परेको आधा आकाश नाटक प्रस्तुत गरिएको थियो।
कृषिको प्रर्वद्धनको लागि ग्रामीण महिलाहरुको महत्वपुर्ण भूमिका पुर्र्याउने महिलाको योगदान स्वरुप सन् २००७बाट हरेक १५ अक्टोवरमा अन्तराष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको हो। नेपालमा भने सन् २०१४ देखि मनाउन सुरु गरिएको राष्ट्रिय कृषक महासंघकी महासचिव रिता बास्ताकोटिले जानकारी दिए। कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठ, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, राष्ट्रिय कृषक समुह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी लगायतले बोलेका थिए। कार्यक्रमलाई खाद्यका लागि कृषि अभियान, भरतपुर महानगरपालिका चितवन, भूमि व्यवस्था कृषि तथा सहकारी वाग्मती प्रदेशको सहकार्य गरेको थियो।


























