काठमाडौं, असोज १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वाटरमा ‘बमबारी’ गरेको बताएका छन्।
शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग गरको बताए।
उक्त समयमा मुलुककै प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै रहेको भन्दै देश दुर्घटनामा पर्न नदिन आफूले त्यस्तो कदम लिएको टिप्पणी गरे।
प्रचण्डले ओली प्रधानमन्त्री छँदा तीन वर्ष आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप पनि लगाए। उनले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुको बिकल्प नरहेको जिकिर गरे। उनले एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने र दोष माओवादीलाई लगाउने योजना बुनिएको भन्दै सतर्क रहनुपर्ने बताए।
त्यस्तै प्रचण्डले देशको हिरो माओवादी नै भएको दावी गर्दै अव माओवादीको अगुवाइमा पूर्वमाओवादीको एकता प्रक्रिया सुरु गरिने बताए। एकताका लागि मोहन वैद्यलगायतका नेताहरुसँग छलफल भइरहेको जानकारी दिए।


























