काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ।
संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन्। उक्त बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई डाकेको बैठकमा आफूहरु नजाने उनले बताए।
तर, एमाले अध्यक्ष केपी ओली निकट नेता, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भने बुधबार एक अन्तरवार्तामा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाके जाने बताएका थिए।
देउवाको सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ। यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिष्कार गरेको थियो।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन्। यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए।


























