काठमाडौं, असोज १३ । सेयर बजारमा सुधारको संकेत देखिएको छ। तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ। पछिल्लो वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ।
सबै समूहको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ।
आज ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।
कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थीर रह्यो। भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेकोमा बजार हरियाली भएपछि लगानीकर्ता उत्साहित भएका छन्।
भदौ २ गते नेप्सेले कीर्तिमानी ३१ सय ९८ अंक कायम गरेपछि ऋण खोजेर लगानी गरेका लगानीकर्ता निराश थिए।


























