काठमाडौं, असोज १२ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ।
टियु क्रिकेट मैदानमा हुने एक मात्र खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्ने छन्। काठमाडौं र पोखराबीचको खेल मध्यान्न सवा १२ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ। काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो। वर्षाले मैदान भिजेको कारण खेल टस समेत नभई स्थगित भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो। भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थियो।
दुई टिमबीचको पहिल्लो दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका छन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























