मुम्बई, असोज १० । बलिउडको सुपरहिट फिल्म ‘दृश्यम’ सिक्वेल ‘दृश्यम-२’ निर्माण हुने भएको छ।
फिल्ममा अजय देवगणले एक जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरेका थिए। दृश्यम-२ को छायांकन डिसेम्बरभित्रै सुरु हुने निर्माण पक्षले जनाएको छ। खासमा ‘दृश्यम’ मलयालम भाषाको फिल्म हो।
सन् २०१३ मा मलयालममा बनेको फिल्म दर्शकले अत्याधिक मन पराएका थिए। त्यसपछि बलिउडमा सन् २०१५ मा रिमेक गरियो। फिल्ममा अजयका साथमा तब्बु, श्रीया शरण, इस्हिता दत्ता, रिसब चड्डा मुख्य भूमिकामा छन्। फिल्म निशिकान्त कामतले निर्देशन गरेका हुन्।
मलालयम अभिनेता मोहनलालको मुख्य भूमिकामा रहेको दृश्यमको सिक्वेल गत फेब्रुअरीमा अमेजन प्राइममा रिलिज भएको थियो। अब बलिउडले उक्त सिक्वेलको हिन्दीमा रिमेक गर्न लागेको हो।
पछिल्लो समय अजय ‘मेडे’, ‘मैदान’, ‘थ्यान्क गड’ फिल्म र वेबसिरिज ‘रुद्र’ को सुटिङमा व्यस्त भएकाले ‘दृश्यम-२’ को छायांकन डिसेम्बरमा धकेलिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

























