मकवानपुर, असोज ९ । साहित्य संगम मकवानपुरको १५औं अधिवेशन शनिवार भएको छ। अधिवेशनको अवसरमा साहित्यकार, प्रचार्य र सञ्चारकर्मी सहित ३ जना सम्मानित भएका छन्।
अधिवेशनमा साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष श्याम कुमार बानिंया, कृष्ण आदर्श बालवाटिका विद्यालयका प्राचार्य नवीन केसी र सञ्चारकर्मी जमुना थिङलाई सम्मानित भएका छन्।

यसैबीच मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ। २०४४ सालमा स्थापना भएको संगममा १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ। संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार भएकी छिन्।
संगमको शनिबार भएको अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसहमत रुपमा निर्वाचित गरेको हो। हेटौंडा–४ भैरवरोडमा आफ्नै प्रेक्षालय रहेको संगमको नेतृत्वमा आएपछि न्यौपानेले सबै साहित्यकारलाई समेट्दै मकवानपुरे साहित्यको श्रीवृद्धिमा लाग्ने बताइन्। उनले सबै तह र तप्काका साहित्यकारलाई संगम आफ्नै हो भन्ने अनुभूती हुनेगरी काम गर्ने उल्लेख गरिन्।
यसअघि सदस्य, कोषाध्यक्ष तथा उपाध्यक्षमा दुई कार्यकाल काम गरिसकेको अनुभवलाई उपयोग गर्दै समितिका सदस्य तथा मकवानपुरे सबै साहित्यकारसँग छलफल र सहमतिमा योजनावद्ध रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाएकी छिन्। उनले संगममा रहेर मकवानपुरे साहित्यको विकाससँगै भौतिक विकासलाई पनि जोड दिने बताइन्। उनले गुटउपगुुटबाट टाढा रहेर नितान्त साहित्यको सेवामा सर्मर्पित हुने प्रतिक्रिया दिएकी छिन्।
साहित्य संगमको नयाँ कार्य समिति
यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल निर्वाचित भएका छन्। संगमको कार्यसमिति सदस्यमा मेनुका तिमल्सिना, कुवेर पराजुली, गंगा सापकोटा र सुनिल गौतमलाई निर्वाचित गरेको छ।
समितिको अन्य पदमा सर्वसहमत भएपनि सचिवमा भने निर्वाचन भएको थियो। सचिवमा डिबी बर्तौला र रमेश बञ्जारको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट बर्तौला विजयी भएका हुन्। मतदानमा प्रक्रियामा बर्तौलाले ७३ र बञ्जारारले ९ मत प्राप्त गरेका थिए।
संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षमा अधिवेशन भएको अधिवेशनको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए। अधिवेशनको बन्दसत्रले कोषाध्यक्ष सानु खनाल र सचिव डिबी बर्तौलाको प्रतिवेदन पास गरेको छ। यस्तै अधिवेशनले संगमको विधानको विभिन्न बुँदालाई परिमार्जन तथा थप गरेको छ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकारद्वय तुल्सी घिमिरे र आरसी रिजाल, भिमविराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्य, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, नेपाली लेखक संघका अध्यक्ष विष्णु गौतम, नवसर्जक साहित्य चौतरीका अध्यक्ष प्रशन्ना चौलागाई लगायतको उपस्थिति रहेको थियो।


























