मुम्बई, असोज २ । बलिउड अभिनेता सोनू सूद कर चोरी मामलामा मुछिएका छन्। उनको घरमा पछिल्लो तीन दिनयता आयकर विभागले सर्वे अपरेशन चलाइरहेको छ। शनिवार पनि आईटीको टिमले सर्वे गरिरहेको छ।
सोनूलाई लिएर आइटी अधिकारीहरुले एउटा ठूलो खुलासा गरेका छन्। विभागले सोनू आबद्ध स्थानमा खानतलासीपछि २० करोड रुपैंयाँको करछली, २ दशमलब १ करोड रुपैंयाँको अवैध विदेशी धन, ६५ करोड रुपैंयाँको फर्जी लेनदेन, जयपुरस्थित एक इन्फ्रा फार्मसँग १ सय ७५ करोड रुपैंयाँको सर्कुलर लेनदेन गरेको दाबी गरेको छ।
आयकर विभागले शनिबार सोनूले २० करोडको करछली गरेको बताएको छ। उनको च्यारिटी फाउण्डेसन र सोनूले चलाउने एक एनजिओबाट २ दशमलब १ करोडको विदेशी अवैध चन्दा भेटिएको विभागले जनाएको छ। विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरूग्रामसहित २८ स्थानमा सर्च अपरेसन गरेको थियो।
सोनूमाथि आईटी अधिकारीहरुले सोनूले कैयौं फर्जी संस्थाहरुबाट फर्जी र असुरक्षित ऋणका रुपमा हिसाब नै नगरिएको पैसा जम्मा गरेको आरोप लगाएका छन्। सोनूले सन् २०२० को जुलाईमा सोनू च्यारिटी फाउण्डेसन स्थापना गरेका थिए। विभागका अनुसार यो फाउण्डेसनले सन् २०२१ को अप्रिल १ देखि हालसम्म १८ दशमलब ९४ करोड रुपैंयाँको सहयोग पाएको छ।
यो सहयोगमध्ये फाउण्डेसनले १ दशमलब ९ करोड रुपैंयाँ अलग अलग राहत कार्यमा खर्च गरेको छ। बाँकी १७ करोड रुपैंयाँ हालसम्म बैंकको खातामा छ। जसको कुनै प्रयोग गरिएको छैन।
अनुसन्धानमा फाउण्डेसनको क्राउड फण्डिङ प्लेटफर्ममा विदेशी दाताबाट १ दशमलब १ करोड रुपैंयाँ राशी जुटाइएको भेटिएको छ। जुन एफसीआरएको नियम विपरित हो।
विभागले लखनऊको एक उत्पादक समूहसँग जोडिएको अलग अलग स्थानमा छानविन गरेको छ। यो समूहसँग सोनू पनि जोडिएका छन्। छानविन पछि यो कम्पनीमार्फत कैयौं फर्जी बिल, ६५ करोडको फर्जी सम्झौता भएको खुलासा गरिएको छ।
छानविनमा हिसाब नै नगरिएको नगद खर्च, कबाडीको बेहिसाब बिक्री र डिजिटल डेटाबाट बिना हिसाबको नगद लेनदेन गरिएको पाइएको छ। विभागले १ दशमलब ८ करोड क्यास र ११ लकर रिकभर गरेको छ। आजतक


























