असोज २ । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन्। किनकि नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तानमा रहेका छन्।
तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन। महिलाको फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ। फिलिपिन्स ६८ औं स्थानमा रहेको छ।
नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले वरीयताले खेलमा असर नगर्ने बताउछिन्। बलियो टिमलाई हराउन सक्ने टिममा आत्मविश्वास रहेको रेनुकाको भनाइ छ।
‘हामी खेलका लागि उत्साहित छौँ। हामीले तयारी पूरा गरेका छौँ। दुई महिना अभ्यास गरेका छौँ। मैत्रीपूर्ण खेल खेल्यौं त्यसले धेरै सहयोग गरेको छ,’ कप्तान रेनुका भन्छिन्, ‘टिमको ध्यान कसरि अगाडी बढ्ने र छनोट हुने भन्नेमा छ। वरीयता हेर्दा दुबै टिम हामी भन्दा राम्रो छ। तर, हामीले राम्रो वरीयता भएको टिमलाई हराईसकेका छौँ, बराबरी गरेका छौँ।’
कप्तान रेनुकाले टिमले राम्रो खेल खेलेका एसियन कपमा छनोट हुने मौका रहेको समेत बताईन्।
यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस छनोट टिमका लागि चुनौती र अवसर दुबै भएको बताए। उनले दुबै खेलमा टिमले उत्कृष्ट खेल्नेमा विश्वस्त रहेको बताए।
‘नेपाली महिला फुटबल टिमको लागि यो एउटा अवसर मात्र हैन। आफ्नो खेल र क्षमता देखाउने अवसर पनि हो।’ प्रशिक्षक ग्यारीले भने, ‘हामी राम्रो खेल प्रर्दशन गर्नेमा विश्वस्त छौं।’
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त बिहीबार हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।


























