असोज १ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ। पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ।
सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ।
पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो। यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो।
लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
लिग-२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन्। लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्।


























