भदौ ३१ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एसी मिलानलाई हराएको छ। बुधबार राति लिभरपुलले सिरि ए क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो।
खेलमा अग्रता लिभरपुलले फिकायो तोमोरीको आत्मघाति गोलबाट लिएको थियो। खेलको १४ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनाउने मौका गुमायो। मोहमद सलाहा पेनाल्टीमा गोल गर्न चुकेका थिए।
एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोल गर्दै मिलान क्लबलाई पहिलो हाफमा २–१ ले अघि बढाएका थिए। तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्किएको थियो।
सलाहाले गोल गर्दै ४९ औं मिनेटमा खेल बराबरी गरेका थिए। जोर्डन हेन्डरसनले ६९ औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका थिए। डिसेम्बर यता हेन्डरसनले पहिलो पटक लिभरपुलका लागि गोल गरेका हुन्।
समूह बीको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्। एट्लेटिकोले घरेलु मैदानमा पोर्चुगलको पोर्टोसंग निराशाजनक बराबरी खेल्दै अंक बाँडेको हो।
समूहमा लिभरपुलले ३ अंक जोडेको छ। एट्लेटिको र पोर्टोको समान १ अंक छ। मिलान क्लब अंक विहिन हुँदै पुछारमा छ। एजेन्सी


























