भदौ ३० । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेका छन्।
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम उज्वेकिस्तान पुगेको हो। नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको ताश्केन्त पुगेको हो।
ताश्केन्त पुगेपछि नेपाली टोलीको कोभिड-१९ को पीसीआरको लागि स्वाब संकलन गरिएको छ। पीसीआरको रिपोर्ट नआएसम्म नेपाली टिम होटलमा क्वारेन्टिनमा बस्ने छन्।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ुएफु मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।


























